बागमती सरकारले आईटी क्षेत्रमा ५ सय युवालाई रोजगारी दिने, सीप विकास तालिम र कर्जा सुविधा उपलब्ध गराइने

हेटौंडा, वैशाख ३० – बागमती प्रदेश सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब ५ सय जनालाई रोजगारी दिने योजना सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच आइतबार हस्ताक्षर भएको समझदारीपत्रमार्फत यो योजना अगाडि बढाइएको हो।

मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारी अनुसार, कोषले कक्षा १२ पास गरेका युवालाई आईटी क्षेत्रमा आवश्यक सीप विकास तालिम प्रदान गर्नेछ। तालिमपछि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने र आईटी कम्पनीहरूसँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गरिनेछ।

योजना अन्तर्गतका प्रमुख प्रावधानहरू:

  • रोजगारीमुखी सीप विकास तालिम सञ्चालन
  • सहुलियतपूर्ण कर्जा सुविधा
  • बैंक तथा वित्तीय संस्थामार्फत कर्जा सुरक्षण व्यवस्था
  • रोजगारीदाता कम्पनीहरूसँग प्रत्यक्ष समन्वय
  • सूचना प्रविधि प्रणालीमार्फत संस्थाको विवरण अद्यावधिक

यसका लागि ‘रोजगारीमुखी सीप विकास तालिम कर्जा सुरक्षण कोष’ नामक छुट्टै कोष स्थापना गरिनेछ, जहाँ कर्जाको १०% रकम जम्मा गरिनेछ। यही कोषबाट त्रैमासिक सुरक्षण शुल्क संकलन तथा कर्जामा क्षति भएमा क्षतिपूर्ति भुक्तानी गरिनेछ।

मन्त्री महर्जनले देशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति न्यूनीकरण गरी स्वदेशमै अवसर खोज्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया