बागमती युवा क्लबले जित्यो मरिण गोल्डकप

सिन्धुली: सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित पहिलो मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले जितेको छ। मरिण गाउँपालिका–२ मुङ्ग्रे खेल मैदानमा भएको फाइनलमा बागमतीले आयोजक मुङ्ग्रे युनाइटेड युवा क्लबलाई ४-३ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

निर्धारित समयमा गोल नहुनु भएपछि पेनाल्टी सुटआउटमार्फत विजेता र उपविजेताको निर्धारण गरिएको थियो। उपाधि जित्ने बागमतीले नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगिताको आयोजक मुङ्ग्रे युनाइटेड युवा क्लबले १ लाख ५० हजार रुपैयाँ पाएको क्लबका अध्यक्ष ज्ञानबहादुर मुक्तानले जानकारी दिए।

फाइनल खेलको प्लेयर अफ द म्याच बागमतीका गोलरक्षक अनिष महतो घोषित भए। विधातर्फ राइजिङ प्लेयरको पुरस्कार जनहितैषी युवा क्लबका विशाल मोक्तानले, सर्वाधिक गोलकर्ता एन्फा मकवानपुरका ललित चौलागाईं र बागमती गाउँपालिका मकवानपुरका श्री मगरले संयुक्त रूपमा पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बागमती युवा क्लबका आयुष रानामगर घोषित भए।

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार दिइएको आयोजकले जानकारी गराएको छ।

विजेता र उपविजेतालाई मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान र उपाध्यक्ष विमला माझीले पुरस्कार प्रदान गरे। सिन्धुली, सर्लाही, मकवानपुर लगायतका जिल्लाबाट नौ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिताको आयोजना गर्न मरिण गाउँपालिका र अन्य पालिकाहरूले आर्थिक सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया