बागमती गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै

मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ। बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनलमा उपाधिका लागि साबिक विजेता मच्छिन्द्र क्लब र प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।

दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। दुवै टिम जित निकाल्ने उद्देश्यले मैदानमा उत्रनेछन्। मच्छिन्द्रले थ्री स्टारलाई र चर्च ब्वाइजले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएका छन्।

मच्छिन्द्र क्लब लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने चर्च ब्वाइज युनाइटेड पहिलोपटकको सहभागितामा उपाधि जित्न चाहन्छ। दुवै टोलीका लागि आजको फाइनल भिडन्त ऐतिहासिक हुनेछ।

उपाधि विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक लाख एक हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया