बागमतीमा निजी वनका साल रुख कटानसम्बन्धी कार्यविधि स्वीकृत

हेटौंडा — बागमती प्रदेश सरकारले निजी वनमा रहेका साल प्रजातिका रुख कटान, उपभोग, ओसारपसार र बिक्री वितरणसम्बन्धी अनुगमन कार्यविधि स्वीकृत गरेको छ।

गत मंगलबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ‘निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१’ लाई स्वीकृति दिएको हो।

प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बरालले उक्त कार्यविधिको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको र अब स्वीकृत भइसकेको जानकारी दिए। उनले भने, “अब दर्ता भएका निजी वनधनीहरूले कार्यविधिको मापदण्ड अनुसार स्वीकृति लिएर आफ्नै वनमा हुर्काएका सालका रुखहरू कटान र उपयोग गर्न सक्नेछन्।”

संघीय सरकारले २०८० मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशित सूचनामा दर्ता भएका निजी वनमा हुर्काइएका सालका रुखहरू कटान गर्न सकिने व्यवस्था गर्दै प्रदेश सरकारलाई अनुगमन गर्ने अधिकार दिएको थियो।

सोही अनुसार बागमती प्रदेश सरकारले स्पष्ट मापदण्डसहितको कार्यविधि तयार पारेर लागू गरेको हो। यसले वन संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै निजी वनधनीहरूको अधिकार सुरक्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया