बहुविवाह र विवाहको उमेरसम्बन्धी व्यवस्थामा सुधारका लागि उपसमिति गठन ?

काठमाडौं — गृहमन्त्री रमेश लेखकले बहुविवाह र विवाहको उमेर सम्बन्धी व्यवस्थालाई परिमार्जन गर्न मन्त्रिपरिषद्को विधेयक समितिमा उपसमिति गठन गरिएको जानकारी दिएका छन्।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधेयक समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले बाहिर भइरहेका चर्चा, चिन्ता र चासोलाई सम्बोधन गर्दै यस्तो निर्णय गरिएको बताए।

उनीहरूले अग्रिम जमानत व्यवस्था र कैद जरिवानाको मुल्तवी तथा माफीसम्बन्धी व्यवस्थामा पनि थप छलफल र परिमार्जन आवश्यक भएको उल्लेख गरेका छन्।

मन्त्री लेखकले भने, “बहुविवाहको संशोधन, विवाहको उमेर, अग्रिम जमानत र सजायको माफी वा परिवर्तनका विषयमा संविधानले व्यवस्था गरेको सम्मानित राष्ट्रपति ज्यूको भूमिका छ। यसका साथै यी विषयमा थप छलफल गरी विधेयकलाई सुधार गरेर अघि बढाइनेछ।”

बैठकमा मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि, देवानी संहिता र सजाय निर्धारणसम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव प्रस्तुत भएको उनले बताए।

उपसमितिले सम्बन्धित मन्त्रालयहरूबाट राय लिएर विधेयकलाई आवश्यक परिमार्जन गरी अगाडि बढाउने काम गर्नेछ।

गृह मन्त्रालयसहित कानुन मन्त्रालयले पनि आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया