बर्दियामा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित

गुलरिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५, बालापुरमा चितुवाको आक्रमणबाट ६ वर्षीया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकामाथि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार बालिकाको शव गुलरिया स्थित बर्दिया अस्पतालमा राखिएको छ।

पछिल्ला केही महिनायता बर्दियामा चितुवा आक्रमणका घटना बढ्दै गएका छन्। स्थानीयका अनुसार यसअघि पनि चितुवाको आक्रमणमा परी चार बालबालिकाले ज्यान गुमाइसकेका छन्। त्यसैका कारण बालापुरवासीले चितुवाको नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र चक्काजाम गरेका थिए।

गुलरिया नगरपालिका–५ का वडा सदस्य सोवेन्द्र बहादुर चौधरीका अनुसार, जिल्ला सुरक्षा समितिमा चितुवा नियन्त्रण गर्न पहल थालिने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। स्थानीयले भने माग सम्बोधन नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया