बजेटबारे परामर्श गर्न कांग्रेस सभापति देउवा र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट तयारीसम्बन्धी विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन्।

बिहीबार बिहान बुढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा बजेट निर्माणका विभिन्न पक्षबारे छलफल भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

भेटका क्रममा सभापति देउवाले मुलुकको वर्तमान आर्थिक अवस्था विचार गरेर बजेट मितव्ययी ढंगले बनाइनुपर्ने सुझाव दिएका थिए। साथै, स्रोतको अधिकतम उपयोग गर्ने गरी योजनाहरू अघि बढाउन आग्रह गरेका थिए।

यसअघि सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ, जसमा “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्यलाई प्राप्त गर्न विभिन्न योजनाहरू समेटिएको छ।

नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति, सहकार्य र सामूहिक प्रतिबद्धताको आधारमा अगाडि बढ्ने उल्लेख गरिएको छ। आजदेखि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु हुँदैछ भने बजेट जेठ १५ गते सार्वजनिक गर्ने तयारी सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया