बजेटअघि सरोकारवालासँगको छलफलमा जुटे मेयर चिरिबाबु

काठमाडौं — ललितपुर महानगरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुअघि सरोकारवालाहरू, विषय विज्ञहरू र ललितपुर जिल्लाका सांसदहरूसँग छलफल गरेको छ। महानगरले आवश्यकताहरू पहिचान गरी आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई सहभागितामूलक बनाउन विभिन्न क्षेत्रसँग छलफल आयोजना गरेको हो।

महानगरले वडापिच्छे भेला गरेर नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन पनि गरिरहेको छ। साथै, विषयगत समितिले पनि नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जनप्रतिनिधि विषयविज्ञ नभएकाले सुझाव लिन सरोकारवालासँग छलफल गरेको बताए। “सबैको कुरा सुन्न, विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका हौँ। बजेट ल्याउनुअघि स्थानीय तहले यस्तो अभ्यास विरलै मात्र गर्छन्। यसलाई महानगरको असल अभ्यासको रूपमा लिन सकिन्छ,” उनले भने।

त्यस्तै, उपप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यले नीतिमा समावेश गर्नुपर्ने विषयबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताइन्। उनले भनिन्, “नीति राम्रो भयो भने बजेट र कार्यक्रम पनि राम्रो आउँछ, त्यसैले चरणबद्ध रूपमा कार्यक्रम राखेका हौँ।”

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सहभागीमुखी नीति निर्माणका लागि विविध समुदाय र क्षेत्रलाई समेटेर छलफल कार्यक्रम आयोजना गरेको धारणा व्यक्त गरिन्। सेवा प्रवाहलाई डिजिटलाइजेसन गरेको बताउँदै त्यसले प्रभावकारी काम गरेको उल्लेख गरिन्। छलफलबाट प्राप्त सुझाव आगामी बजेटमा समावेश गरिने बताइन्।

अघिल्लो आर्थिक वर्षका ३२४ मध्ये ८९ प्रतिशत नीति सम्बोधन गर्न सफल भएको महानगरले जनाएको छ।

मेयर महर्जनले पारदर्शिता, मितव्ययीता, सुशासन र विकास निर्माणलाई यो छलफलले सहयोग गर्ने बताए। सुझावका रूपमा आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे। महानगर प्रमुखले सूचना प्रविधि विषयलाई इमर्जिङ क्षेत्रको रूपमा राख्दै सिलिकन भ्याली बनाउन यो विषयलाई नीतिमा समावेश गर्ने बताए। “हामी यसलाई कार्यक्रममा पनि राख्छौँ,” उनले भने।

तपाईको प्रतिक्रिया