फ्रान्सको व्यस्त एयरपोर्टमा ‘सुँगुर काण्ड’! एयरलाइन्सले गर्‍यो छानबिन सुरु

काठमाडौं —फ्रान्सको राजधानी पेरिस नजिकै अवस्थित ओर्ली अन्तर्राष्ट्रिय विमानस्थलमा एक कालो सुँगुर देखिएपछि यात्रुहरूबीच हंगामा मच्चिएको छ। विमानस्थलको पसल, लगेज क्यारेसेल र प्रतीक्षालय क्षेत्रमा घुमिरहेको सुँगुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चाँसोको विषय बनेको हो।

सुँगुर यात्रुहरूको बिचमा निस्फिक्री ढंगले हिँडिरहेको देखिएपछि सुरक्षाका विषयमा आम सर्वसाधारणले प्रश्न उठाएका छन्। कतिपय यात्रुहरूले विमानस्थलको सतर्कता प्रणालीमाथि नै आशंका व्यक्त गरेका छन्।

विमानस्थल प्रशासनका अनुसार कालो रङको उक्त सुँगुर एयर कोर्सिकाको उडानमा गल्तीले लोड भएको र त्यही क्रममा विमानस्थलमा हराएको हो। सुरक्षा गार्डहरूले तत्काल हस्तक्षेप गर्दै सुँगुरलाई चोट नपुर्‍याई सुरक्षित रूपमा नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

ओर्ली विमानस्थलका एक अधिकारीले भने, “सुँगुर विमानस्थलमा झोलासँगै आइपुगेको देखिन्छ। हवाई ट्राफिकमा कुनै अवरोध नहोस् भनेर गार्डहरूले तत्काल आवश्यक कदम चालेका हुन्।”

विमानस्थल सुरक्षा प्रणालीका कर्मचारीहरूले कालो रङको सुँगुर लगेज स्क्यानिङ मेसिनबाट छुट्न सक्ने सम्भावना व्यक्त गरेका छन्। यसबारे एयरलाइनले आन्तरिक छानबिन अघि बढाएको जनाएको छ।

यस घटनाले फ्रान्सको व्यस्ततम अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पशु र लगेज व्यवस्थापनसम्बन्धी सुरक्षा खाल्डोप्रति गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया