फोहोर व्यवस्थापनमा अवरोध : काठमाडौं महानगरको आग्रह– “घरभित्रै सुरक्षित रूपमा फोहोर राख्नू

काठमाडौं, — काठमाडौं महानगरपालिकाले फोहोर बिसर्जनमा समस्या देखिएको भन्दै घरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरले ल्याण्डफिल साइटमा अवरोध हुँदा अस्थायी रूपमा फोहोर संकलन र व्यवस्थापन रोकिएको जनाएको हो।

महानगरका अनुसार हाल फोहोर बिसर्जनका लागि बञ्चरेडाँडा पठाइएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइटमा प्रवेश गर्न नसकेका छन्। प्रभावित क्षेत्र सरोकार समितिले आफ्ना माग पुरा नभएको भन्दै फोहोर फाल्न अवरोध गरेको हो।

समितिका संयोजक श्रीराम ढुंगानाले काठमाडौं महानगरले बारम्बार आश्वासन दिए पनि सम्झौताहरू कार्यान्वयन नगरेकाले आन्दोलन गर्न बाध्य भएको बताए। “तीन दिनदेखि हामीले फोहोर ल्याउन दिएका छैनौं, मागहरू पूरा नभएसम्म ल्याण्डफिल साइट अनिश्चितकालका लागि बन्द रहनेछ,” ढुंगानाको भनाइ छ।

ढुंगानाका अनुसार नुवाकोटका प्रमुख जिल्ला अधिकारीले समेत सहजीकरणका लागि पहल गर्दै पत्राचार गरेका छन्। तर, माग पूरा नभएसम्म साइट खुला नहुने समितिको अडान छ।

स्थानीयवासीहरूले बञ्चरेडाँडा र सिसडोल क्षेत्रलाई ‘विशेष संवेदनशील क्षेत्र’ घोषणा गर्न, प्रभावित क्षेत्रलाई अधिग्रहण गरी मानव बस्तीरहित हरित क्षेत्रको विकास गर्न, र अस्पताल, विषादीजन्य तथा औद्योगिक फोहोर फाल्न निषेध गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया