फोन र भेटघाटले गठबन्धन हल्लिंदैन, सरकार पूरा अवधि टिक्छ : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले हालको गठबन्धन सरकार स्थिर र दिगो रहेको दाबी गर्दै सरकार पूरा कार्यकालसम्म टिक्ने विश्वास व्यक्त गरेका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल मुलुकको आर्थिक अवस्था लयमा आएको र राजनीतिक स्थिरता स्थापित भएको बताए।

गृहमन्त्री लेखकले भने, “दश महिना अगाडिको आर्थिक अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। विदेशी मुद्राको सञ्चिति बढेको छ र आर्थिक सूचकांकहरू सकारात्मक छन्। यो राष्ट्र बैंकको तथ्यांक हो, मेरो भनाइ मात्र होइन।”

उनका अनुसार, पछिल्लो दस महिनामा मुलुकले राजनीतिक स्थिरताको अनुभव गरेको छ र गठबन्धन सरकारले सुशासन, कानुन निर्माण तथा नीतिगत सुधारतर्फ सशक्त प्रगति गरेको छ।

संविधान र व्यवस्थाविरोधी गतिविधिप्रति सरकार कडा रहेको उल्लेख गर्दै गृहमन्त्रीले भने, “गणतन्त्र र संविधान जनताको बलिदानबाट प्राप्त भएको हो। त्यसका विरुद्ध हुने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुँदैन। त्यस्ता प्रयासलाई जनस्तर र सरकार दुवैबाट निरुत्साहित गरिनेछ।”

भ्रष्टाचार नियन्त्रणसम्बन्धी अख्तियारसम्बन्धी विधेयकको विषयमा पत्रकारको जिज्ञासामा उनले संसदमा छलफल भइरहेको बताए। “सबै विधेयकलाई छलफलमार्फत निष्कर्षमा पुर्‍याउने र भ्रष्टाचारविरुद्ध पारदर्शी ढंगले कारबाही प्रक्रिया अघि बढाउने सरकारको नीति हो,” गृहमन्त्री लेखकले स्पष्ट पारे।

सरकारको दीर्घायुमाथि उठेका केही शंकाप्रति प्रतिक्रिया दिँदै उनले भने, “फोटो खिचिएको, टेलिफोन गरिएको वा भेटघाट भएको आधारमा गठबन्धन हल्लिँदैन। यो सरकार नेपाली कांग्रेस र एमालेबीचको सहमतिको आधारमा बनेको हो, र यो पूरा कार्यकालसम्म चल्नेछ।”

तपाईको प्रतिक्रिया