फेसबुकप्रति लचक बन्यो सरकार, दर्ताका लागि अब म्याद नतोक्ने !

काठमाडौं, वैशाख ३० — सामाजिक सञ्जाल कम्पनी फेसबुक (मेटा) नेपालमा दर्ता प्रक्रिया अगाडि नबढाउँदा सरकार पछिल्लो समय लचक बन्दै गएको छ। पटकपटक तोकिएको म्यादमा पनि दर्ता नभएपछि सरकारले अब समय सीमा नै नतोकिने जनाएको छ।

गत चैत ७ गते एक महिने म्याद सकिएपछि सरकारले थप एक हप्ताको समय दिएको थियो। तर, त्यस अवधिमा समेत फेसबुक दर्ता प्रक्रियामा नआएपछि सरकार आफ्नो अडानबाट पछि हटेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब फेसबुकलाई दर्ता गर्न समय सीमा नतोकिने स्पष्ट पारे। उनले भने, “औपचारिक रूपमा मेटाले अहिलेसम्म कुनै जानकारी दिएको छैन। अब म्याद तोकिँदैन, तर ढिलोचाँडो दर्ता प्रक्रियामा आउनैपर्छ।”

उनका अनुसार फेसबुक हाल पुनःसंरचना (restructuring) प्रक्रियामा रहेको भन्ने जानकारी प्राप्त भएको छ। यही कारण तत्काल दर्ता प्रक्रिया अगाडि नबढेको अनुमान गरिएको छ।

यसअघि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता प्रक्रियामा नआए मेटाको सेवा नेपालमा बन्द गरिने चेतावनी दिएका थिए। तर, हाल सरकारले कडा अडानभन्दा लचिलो नीति लिएको देखिन्छ।

हालसम्म नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र दर्ता भएका छन्। अन्य केही ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू अझै दर्ता प्रक्रियामा आएका छैनन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्न ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८०’ कार्यान्वयनमा ल्याएको छ। निर्देशिकाले नेपालमा सेवा दिइरहेका सामाजिक सञ्जाललाई सूचीकरण, सम्पर्क व्यक्ति नियुक्ति, गुनासो सुन्ने संयन्त्र र स्वनियमन अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको छ।

तथापि, बारम्बारको प्रयासका बाबजुद ठूला प्रविधि कम्पनीहरू दर्ता प्रक्रियाबाट टाढै रहेका छन्।

तपाईको प्रतिक्रिया