फिफा महिला वरीयतामा नेपाल हालसम्मकै उच्च स्थानमा

काठमाडौं, — नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा हालसम्मकै उच्च स्थान हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ महिला वरीयतामा नेपाल ८७औँ स्थानमा पुगेको छ।

यसअघि १००औँ स्थानमा रहेको नेपाली टोलीले योपटक १३ स्थान सुधार गर्दै वरीयतामा उल्लेखनीय फड्को मारेको हो। नेपालले अघिल्लो कीर्तिमानी स्थान सन् २०१७ को डिसेम्बरमा ९१औँ स्थानमा रहँदा बनाएको थियो।

फिफाको जुलाई अन्तर्राष्ट्रिय खेल विन्डो अन्तर्गत एएफसी महिला एसियन कप छनोटमा नेपालले लाओस, श्रीलंका र उज्बेकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो। नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो। छनोटको अन्तिम खेलमा उज्बेकिस्तानसँग २–२ को बराबरी खेले पनि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा एसियन कप खेल्ने नेपालको सम्भावना समाप्त भएको थियो।

दक्षिण एशियाली वरीयतामा पनि नेपालको सुधार

फिफा वरीयतामा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भारत शीर्ष स्थानमा रहेको छ। भारतले ७ स्थान सुधार गर्दै ६३औँ स्थानमा उक्लिएको छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रो स्थानमा छ। बंगलादेशले कीर्तिमानी २४ स्थान सुधार गर्दै १०४औँ स्थानमा पुगेको छ।

पाकिस्तान ३ स्थान उक्लिएर १५४औँ स्थानमा पुगेको छ भने भुटानले ८ स्थान सुधार गर्दै १६३औँ स्थान ओगटेको छ। श्रीलंका २ स्थान घट्दै १६५औँ स्थानमा झरेको छ। माल्दिभ्स पनि २ स्थान झर्दै १६५औँ स्थानमै रहेको छ।

विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा

फिफाको नयाँ महिला विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ। यसअघि दोस्रो स्थानमा रहेको स्पेनले एक स्थान सुधार गर्दै पहिलो स्थान हासिल गरेको हो। अमेरिका दोस्रो स्थानमा झरेको छ भने स्वीडेन ३ स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेको छ।

इंग्ल्यान्ड चौथो स्थानमा रहँदा दुई स्थान घटेको जर्मनी पाँचौँ स्थानमा झरेको छ।

तपाईको प्रतिक्रिया