फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि १६८ मतदान स्थल थपिए, दल दर्ता १२० पुगे


काठमाडौँ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १६८ नयाँ मतदान स्थल थपिएका छन्। मतदान स्थल थप्ने उद्देश्य मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउनु रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुराना, जीर्ण वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएका छन्। खारेज र नयाँ थपलाई समायोजन गर्दा कुल ७५ मतदान स्थल थपिने भएको छ। यससँगै नयाँ र पुराना मतदान स्थल समेटेर आगामी निर्वाचनमा कुल १० हजार ८९२ मतदान स्थल रहने छ। कुन जिल्लामा कति स्थल थपिएको हो भन्ने विस्तृत विवरण पछि सार्वजनिक गरिने बताइएको छ।

भट्टराईले मतदान स्थल पुनरवलोकनको क्रममा मतदाताको नाम, ठेगाना सम्बन्धी त्रुटि सच्याउने, स्थानान्तरण गर्नुपर्ने मतदातालाई उपयुक्त स्थलमा स्थानान्तरण गर्ने र साविककै मतदानस्थलमा समायोजन गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो। यस कार्यमा स्थानीय तह, जिल्ला र केन्द्रीय समितिहरू, राजनीतिक दल तथा सरोकारवालाले सहयोग गरेका थिए।

निर्वाचनमा सहभागी हुने दलको संख्या १२० पुगेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो। १०–१४ गतेसम्ममा मात्र ६ नयाँ दल दर्ता भएका थिए। पछिल्लो दर्ता भएका दलमा नागरिक बचाउ दल नेपाल, नेपाल जनसेवा पार्टी, उन्नत लोकतन्त्र पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, आवाज पार्टी र समावेशी समाजवादी पार्टी रहेका छन्।

घिमिरेका अनुसार केही दलले संयुक्त रूपमा एउटै चुनाव चिह्न प्रयोग गर्ने योजना बनाएका थिए। तर आयोगले दल दर्ताको म्याद थपेपछि कतिपय दलले अलग चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गरेकाले दलको संख्या बढेको हो। निर्वाचनको प्रयोजनका लागि अब फागुन २१ अघि नयाँ दल दर्ता नहुने बताइएको छ। मङ्सिर २० गते आयोगले प्राप्त निवेदनको जाँचपछि दललाई मान्यता दिने तयारी छ।

तपाईको प्रतिक्रिया