प्रिशा साह मृत फेला परेपछि परराष्ट्रको पहलमा भारतसँग सम्पर्क

काठमाडौँ — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेपछि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले घटनाबारे सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालेको छ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त घटनाले गहिरो दुःख व्यक्त गर्दै, भारत सरकार, ओडिसा राज्य सरकार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत आवश्यक पहल थालिएको जानकारी दिएकी छन्।

पर्सा जिल्लाको वीरगञ्ज निवासी १९ वर्षीया साह बी-टेक पहिलो वर्षमा अध्ययनरत थिइन्। बिहीबार राति उनी आफ्नै होस्टल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ। शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ र परिवारका सदस्यहरू पुगिसकेपछि मात्र पोष्टमार्टम प्रक्रिया अघि बढाइने जनाइएको छ।

उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीको यो दोस्रो दुःखद मृत्यु हो। केही महिना अघि, गत फागुन ४ गते, सोही कलेजमा अध्ययनरत २० वर्षीया प्रकृति लम्साल पनि होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु आत्महत्या भएको आशंका गरिएको थियो। त्यस घटनामा संलग्न शंकामा एक जना भारतीय विद्यार्थी प्रहरी हिरासतमा लिइएको थियो।

लम्सालको घटनापछि नेपाली विद्यार्थीहरूले कलेज प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए र केही विद्यार्थी नेपाल फर्किएका थिए। पछिल्लो घटनापछि पुनः नेपाली विद्यार्थीहरूको सुरक्षामा प्रश्न उठेको छ।

प्रिशा साहको घटनाबारे भुवनेश्वरस्थित इन्फोसिटी प्रहरीले अस्वाभाविक मृत्युको रूपमा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रहरी आयुक्त एस. देव दत्त सिंहका अनुसार घटनाको गम्भीरताका साथ छानबिन भइरहेको छ। यद्यपि, विश्वविद्यालय प्रशासनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

तपाईको प्रतिक्रिया