प्रहरी कार्यालय नजिकै युवकमाथि खुकुरी प्रहार

दाङ । मंगलबार दिउँसो तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।तुलसीपुर उपमहानगरपालिका-१८ का १८ वर्षीय एक युवकमाथि दुई अपरिचित व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार, खुकुरी प्रहारबाट ती युवकको ढाडमा गम्भीर घाउ लागेको छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गरिएपछि थप उपचारको लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।घटना राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–५ गोदाम घर नजिकैको एक पसलमा भएको हो।

पसलमा नास्ता गरिरहेका बेला अपरिचित दुई युवाले ती युवकमाथि खुकुरी प्रहार गरी भागेका थिए। घटनास्थल इप्रका तुलसीपुरको पूर्वमा करिब १०० मिटरको दूरीमा रहेको छ।

यो घटना दिउँसो २ बजे घटीएको थियो।प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार, फेसबुक म्यासेन्जरमा भएको पुरानो विवाद र रिसइबीका कारण ती युवकमाथि खुकुरी प्रहार भएको खुलासा भएको छ।

एक व्यक्तिले विवाद मिलाइदिन्छु भन्दै उक्त युवकलाई तुलसीपुर बजारमा बोलाएको र त्यसपछि पसलमा सँगै नास्ता गर्दै खुकुरी प्रहारको घटना घटेको प्रहरीले जनाएको छ।प्रहरी निरीक्षक खत्रीका अनुसार, खुकुरी प्रहारमा संलग्न दुबै युवक तुलसीपुर बजारका स्थानीय हुन्।

प्रहरीले खुकुरी प्रहारमा संलग्न युवाहरूको खोजी कार्य जारी राखेको जानकारी दिएको छ। घाइते युवकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया