प्रहरीलाई झुक्याउन भरियाको प्रयोग, ११ भारी गाजा जंगलमा फेला

धरान – सुनसरीमा लागूऔषध गाजाको तस्करीमा नयाँ तरिका अपनाउन थालिएको देखिएको छ। सुरक्षाकर्मीहरूले सार्वजनिक सवारीसाधनमा निगरानी कडाइ गरेपछि तस्करहरूले व्यक्ति प्रयोग गरेर भारी बोकाइ गाजा ओसार्न थालेका छन्।

प्रहरीले आइतबार राति धरान–१७ अन्तर्गतको चारकोसे जंगल क्षेत्रमा ११ भारी गाजा फेला पारेको छ। प्रहरीलाई प्राप्त सूचनाका आधारमा, धनकुटाबाट ११ जना भरियाहरू नाम्लोमा गाजा बोकेर धरानतर्फ आउँदै थिए। प्रहरीलाई देखेपछि उनीहरू गाजा फालेर जंगलतर्फ भागेका थिए।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले रातिको समय र जंगलको भौगोलिक अवस्थाका कारण तस्करहरूलाई तत्काल नियन्त्रणमा लिन कठिन भएको बताए।

प्रहरीका अनुसार बरामद गरिएको गाजा करिब ३३० केजी बराबरको छ, जसलाई प्लास्टिकमा प्याक गरिएको थियो। प्रहरीले फरार तस्करहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया