प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान

तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ। छठ पर्वको अवसरमा सोमबार जारी शुभकामना सन्देशमार्फत उहाँले सबै पक्षलाई सक्रिय र जिम्मेवार सहभागी हुन आग्रह गर्नुभयो।

सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानको रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।” उहाँले जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्न सबै पक्षले संवेदनशीलता र आफ्ना जिम्मेवारीको बोध गर्दै जुट्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्री कार्कीले थप्नुभयो, “सडक प्रदर्शन मात्र समस्याको समाधान होइन। आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण तवरले राखेर आमजनताको समर्थन लिएर निर्वाचनबाट अनुमोदन गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।”

सन्देशमा छठसहित हाम्रा चाडपर्व सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक भएको उल्लेख गर्दै अहिलेको अवस्थामा अझ बढी एकता र सद्भाव आवश्यक रहेको भनिएको छ। “पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले सबैमा सद्भाव र खुशियाली ल्याओस्,” प्रधानमन्त्रीले व्यक्त गर्नुभयो।

उहाँले यस पर्वले सत्य, अहिंसा र प्रकृति प्रेममा प्रेरित गर्दै तराई–पहाड जोड्ने सांस्कृतिक र सामाजिक सेतुको रूपमा काम गर्ने पनि औँल्याउनुभयो।

तपाईको प्रतिक्रिया