प्रधानमन्त्री ओली स्पेन भ्रमणपछि आज स्वदेश फर्कँदै

काठमाडौं – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्।

सूचना तथा प्रसारण विभागका अनुसार, प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। उनी यही असार १४ गते शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए।

स्पेन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेन सरकारका अध्यक्ष पेड्रो साञ्चेजसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। त्यस्तै, उनले स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइज मोन्टेनेग्रोसँग पनि भेट गरेका थिए।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए। उनले विभिन्न छलफल सत्रहरूमा सक्रिय सहभागिता जनाएका थिए भने विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफल तथा साइड इभेन्टहरूमा पनि नेपाली प्रतिनिधिमण्डलले सहभागीता जनाएको थियो।

बिहीबार मात्र प्रधानमन्त्री ओलीले मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशाला भ्रमण गरेका थिए। साथै, स्पेनस्थित नेपाली दूतावासको निरीक्षण र नेपाली समुदायसँग पनि उनले छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया