प्रधानमन्त्री ओलीले कोशी प्रदेश सभामा फागुन २७ गते सम्बोधन गर्ने

फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सभामा आगामी फागुन २७ गते सम्बोधन गर्ने भएका छन्। शुक्रबारको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।

यसैगरी, कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूको लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।

सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्न तरिकाले सहयोग गर्ने नीति अपनाइने मन्त्री भण्डारीले बताए। त्यस्तै, प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत गर्न र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाउने निर्णय पनि गरिएको छ।

बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने परामर्श दिने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया