प्रधानमन्त्री ओलीको आह्वान : जेठ १५ मा काठमाडौंमा जनसहभागिता सुनिश्चित गर्न नेताहरूलाई निर्देशन

काठमाडौं, जेठ १२ — नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजधानी काठमाडौंमा पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्न पार्टी पंक्तिलाई तयार रहन निर्देशन दिएका छन्।

वाग्मती प्रदेश अन्तर्गतका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा राजसंस्था पुनःस्थापनाको पक्षमा देखिएको गतिविधि र आन्दोलनतर्फ संकेत गर्दै पार्टी कार्यकर्तालाई सचेत र तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।

“निर्देशन आउनेछ, तर अहिलेदेखि नै तयारी अवस्थामा रहनुस्,” उनले भने। “१५ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं नेकपा (एमाले)को प्रभावमा हुनुपर्छ।”

प्रधानमन्त्री ओलीले सो दिन कुन संस्थाले कार्यक्रम गरिरहेको भन्ने कुरा महत्वपूर्ण नरहेको भन्दै आवश्यक परेमा ती कार्यक्रमहरूलाई पनि पन्छाउन सकिने संकेत दिए। “१५ गते काठमाडौंमा एमालेको उपस्थिति स्पष्ट हुनुपर्छ, आन्दोलनमा प्रोटोकल हुँदैन,” उनले उल्लेख गरे।

राजसंस्थाको समर्थनमा भइरहेको गतिविधिको सन्दर्भ उठाउँदै उनले सरकार र आमजनताको मौनताले यस्ता समूहहरू हौसिएको तर्क गरे। “सरकार र जनता केही समय मौन रहेकै आधारमा कतिपयले आफूलाई शक्तिशाली ठान्न थालेका छन्,” उनले भने। “तर एमाले सशक्त रूपमा मैदानमा उत्रिएपछि तिनको स्थान कतै पत्ता लाग्ने छैन।”

तपाईको प्रतिक्रिया