प्रधानमन्त्रीद्वारा धुलिखेल अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टरको शिलान्यास

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा बन्ने “ट्रमा एण्ड इमर्जेन्सी सेन्टर” भवनको शिलान्यास गरेका छन्। जापान सरकारको सहयोगमा निर्माण हुन लागेको यो सेन्टर नेपाल सरकार र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार अघि बढाइएको हो।

परियोजना अन्तर्गत जापान सरकारले थप ३ अर्ब २ करोड ९६ लाख यान (जापानी मुद्रा) बराबरको अनुदान प्रदान गर्नेछ। उक्त सहायता सम्झौतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच यही जेठ २ गते अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो।

यो सम्झौता जापान सरकारको सन् २०२३ मै भएको प्रारम्भिक सहमतिमा आधारित भए पनि लागत वृद्धि र अन्य कारणले थप अनुदान आवश्यक परेको थियो। नयाँ सम्झौता अनुसार जापान सरकारले भवन निर्माणको ६० प्रतिशत र मेडिकल उपकरणहरूको लागि ४० प्रतिशत सहयोग गर्नेछ।

निर्माण हुने सेन्टरमा पार्किङ सुविधा, आइसीयू, तीनवटा अपरेसन थिएटर, एचडीयू, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनसहित आवश्यक सम्पूर्ण आपत्कालीन सेवा उपलब्ध हुने छन्। परियोजनाअनुसार सेन्टरको भवन तीन तला बेसमेन्टसहित पाँच तला हुने छ, र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनमा सो विवरण समावेश गरिएको छ।

शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, संघीय सांसद गोकुल बाँस्कोटालगायत जनप्रतिनिधि र अधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया