प्रधानमन्त्रीको उपस्थितिबारे सभामुखसँग कांग्रेसको रूलिङ माग

काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर बुधबार संसद्मा प्रश्न उठेको छ । विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखमार्फत रूलिङ गर्न माग गरेको हो ।

प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगित भएपछि पुनः सुरु भएको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथिको प्रस्ताव प्रस्तुत भइसकेको उल्लेख गर्दै त्यससम्बन्धी छलफलमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले आवश्यक रूलिङ गर्नुपर्ने माग गर्नुभएको थियो ।

जवाफमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग यस विषयमा संवाद गर्ने बताउनुभयो । उहाँले तत्काल रूलिङ गर्नेभन्दा पनि परिस्थितिबारे बुझेर सदन सञ्चालनअघि छलफल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले प्रतिपक्षी सांसदहरूलाई शान्त भएर बैठक सञ्चालनमा सहयोग गर्न पनि आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया