प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनापूर्ण र चिन्ताजनक : मानवअधिकार आयोग, संयमित हुन आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयमित अभिव्यक्ति दिन आग्रह गरेको छ। प्रधानमन्त्री ओलीले जेठ १५ गतेका लागि प्रस्तावित जनआन्दोलनलाई लक्षित गर्दै सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई आयोगले उत्तेजनापूर्ण र चिन्ताजनक ठहर गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी राज्यका सुरक्षा निकायको हो। लोकतान्त्रिक मुलुकमा कुनै पार्टी विशेषद्वारा कुनै क्षेत्र कब्जामा लिनु विधिको शासन विपरित हो। यसले निषेधात्मक कार्यलाई प्रोत्साहन दिन्छ भन्ने आयोगको धारणा छ।”

प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा आएको अभिव्यक्ति अरुप्रति लक्षित र मुठभेड निम्त्याउने खालको भएको भन्दै आयोगले यस्तो अभिव्यक्ति मानव अधिकारका मूल्यमान्यता विपरित हुने स्पष्ट पारेको छ। आयोगले सार्वजनिक जीवनमा रहेका व्यक्तिहरू, विशेषतः प्रधानमन्त्री जस्तो संवैधानिक पदमा रहेका व्यक्तिहरूले संयमित र जिम्मेवार अभिव्यक्ति दिनुपर्नेमा जोड दिएको छ।

साथै आयोगले सबै पक्षलाई नकारात्मक टीकाटिप्पणीबाट टाढा रहन, विरोध प्रदर्शनहरू शान्तिपूर्ण बनाइराख्न, र राज्यका सुरक्षा निकायहरूलाई राजधानीसहितका क्षेत्रहरूमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आह्वान गरेको छ।

राजावादी संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा जनआन्दोलनको घोषणा गरेको सन्दर्भमा आयोगलाई उक्त आन्दोलनको अनुगमन गर्न पनि आग्रह गरिएको जानकारी आयोगले दिएको छ।

प्रधानमन्त्री ओलीले सोही दिन एक सार्वजनिक कार्यक्रममा “जेठ १५ गते एघारदेखि दुई बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर आयोगले गम्भीर चासो व्यक्त गरेको हो।

तपाईको प्रतिक्रिया