प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति हर्क साम्पाङको असन्तुष्टि

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि गम्भीर असन्तुष्टि जनाएका छन् । शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले सरकारले विधि, प्रक्रिया र संवैधानिक मर्यादा मिचेर नियुक्तिका लागि सिफारिस गरेको आरोप लगाएका हुन् ।

संसदीय दलका नेता समेत रहेका साम्पाङले संसद्लाई बेवास्ता गर्दै र राष्ट्रप्रमुखमाथि दबाब सिर्जना गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइनु नै गलत अभ्यास भएको बताएका छन् । उनले वरियताको सूचीमा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने निर्णयलाई सरकारको गम्भीर त्रुटि भन्दै यस्तो कदम स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।

साम्पाङले आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । विज्ञप्तिमा उनले नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपीजस्ता विषय उठाएर प्रभाव पार्ने प्रयास भएको उल्लेख गर्दै त्यस परिस्थितिमा पनि वरियताको मापदण्ड उल्लङ्घन गर्ने निर्णयमा उपसभामुखले हस्ताक्षर गर्नु दुःखद भएको बताएका छन् ।

उनले नियुक्ति प्रक्रियामाथि राजनीतिक र कानुनी स्वार्थ जोडिएको आशङ्का समेत व्यक्त गरेका छन् । सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित मुद्दामा आफूअनुकूल निर्णय गराउने उद्देश्यले सरकारले यस्तो कदम चालेको हुन सक्ने दाबी साम्पाङको छ ।

तपाईको प्रतिक्रिया