प्रदेश नं २ मा विपद् ब्यवस्थापनको बहस

प्रदेश नम्बर २ को जनकपुरमा विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन र मनसुन पूर्व तयारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को आयोजनामा सरोकारवाला, जनप्रतिनिधि र प्रदेश सरकारका मन्त्रीहरुबीच विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको विषयमा अन्तरक्रिया भएको हो ।


अन्तरक्रियामा प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले चुरे दोहनले तराई क्षेत्रमा विपद्को जोखिम अझ वढाएको भन्दै यसप्रति संघीय सरकारको ध्यान जानुपर्नेमा जोड दिए । उनले चुरे दोहनमा उच्च सरकारी अधिकारीहरुले समेत मिलेमतो गर्ने गरेको आरोप लगाउँदै प्रदेश नम्बर २ विपद् ब्यवस्थापनको उच्च जोखिममा रहेको उल्लेख गरे । विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा प्रदेश सरकार संवेदनशील रहेको उनको दाबी थियो । मुख्यमन्त्री राउतले भने हामी मनसुन पूर्व गरिनुपर्ने सबै तयारी सकेर बसेका छौ, यसपाली विपद्बाट हुने जोखिम न्युनिकरण गर्न सफल हुन्छौ । मुख्यमन्त्री राउतले विपद्पछिको राहत र उद्दारका लागि आफुहरु तयारी अवस्थामा रहेको जानकारी समेत दिए ।


अन्तरक्रियामा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले पूर्व सूचना प्रणालीलाई ब्यवस्थित गर्दै विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापनमा समूदायको सहभागीलाई प्राथमिकता दिइएको दाबी गरे । उनले प्रकृतिमाथि मानवीय अतिक्रमणले विपद्को जोखिम बढाएको भन्दै विकासको कामलाई ब्यवस्थिति गरिनुपर्ने आवश्यक्ता औल्याए । प्रदेश सरकारले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको भन्दै डुवान र कटान नै सबैभन्दा ठूलो समस्याको रुपमा रहेको उल्लेख गरे । जनताको सहभागितामै विपद् जोखिम न्युनिकरणको काम अघि वढाइएको उल्लेख गर्दै आन्तरिक मामिला मन्त्री यादवले वृद्धवृद्धा र बालवालिकाको सुरक्षामा विशेष ध्यान दिइएको दाबी गरे । केही तात्कालिक र दीर्घकालिक कार्यक्रमकासाथ विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको काम अघि वढाइएको उनको भनाई छ । कानून निर्माण भइसकेको अवस्थामा जोखिम न्युनिकरण र ब्यवस्थापनको काम अघि वढाउन सजिलो हुने र जोखिमयुक्त बस्ती स्थानान्तरणसम्मका काम अघि वढाइने उनको भनाई छ ।


अन्तरक्रियामा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुर क्षेत्रमा विपद्को स्थिति र जोखिम न्युनिकरणका लागि भइरहेका प्रयासहरुबारे जानकारी गराएका थिए । उनले नेपाल लुकसँगको कुराकानीमा यसपाली जनकपुरमा डुवानका कारण हुने क्षति कम गर्ने गरी काम गरेको दाबी गरे । उनले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनका लागि आफुहरु सक्रिय रहेको भन्दै नदीमा तटबन्ध गरिनुपर्ने र चुरे दोहन रोकिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा यसहभागीहरुलाई विपद् जोखिम न्युनिकरण, ब्यवस्थापन, विपद् सम्बन्धी ऐन, नियमावलीबारे पूर्व मन्त्री तथा विपद् विज्ञ गंगालाल तुलाधरले प्रशिक्षण दिएका थिए ।

प्रदेश नम्बर २ प्रत्येक वर्ष वर्षाको समयमा विपद्को स्थितिबाट गुज्रने गरेको छ । विशेष गरी वाढी र डुवानले यो क्षेत्रमा जनधनको क्षति हुने गरेको छ । यस्तो क्षतिलाई न्युनिकरण गर्न पूर्व छलफल गरिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया