प्रतिनिधि सभा निर्वाचन लक्ष्य गर्दै ओलीको झापा दौडाह

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लामो समयपछि आफ्नो गृहजिल्ला झापा पुगेका छन्। जेनजी आन्दोलनपछिको परिस्थितिमा लागू गरिएको यात्रा प्रतिबन्ध हटेसँगै उनी पहिलो पटक काठमाडौँ उपत्यकाबाहिर निस्किएका हुन्।

सोमबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेपछि ओलीलाई पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। विमानस्थलबाट उनी दमकतर्फ लागेका छन्, जहाँ पार्टी संगठन सुदृढीकरण र आगामी निर्वाचनसम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ।

गत भदौमा युवा नेतृत्वको जेनजी आन्दोलनका क्रममा उत्पन्न तनावपूर्ण घटनापछि गठित जाँचबुझ आयोगले ओलीलाई उपत्यकाबाहिर यात्रा गर्न रोक लगाएको थियो। आयोगले हालै उक्त निर्णय फिर्ता लिएपछि उनको जिल्ला भ्रमण सम्भव भएको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ओली झापा आएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारीका साथै कार्यकर्तालाई चुनावी रणनीतिबारे निर्देशन दिने बताइएको छ।

एमालेले यसअघि नै ओलीलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका रूपमा अघि सारेको छ। उक्त क्षेत्रलाई उनको परम्परागत प्रभाव क्षेत्र मानिँदै आएको छ। यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहलगायत अन्य उम्मेदवारहरूको उपस्थितिले प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ।

राजनीतिक वृत्तमा ओलीको यो भ्रमणलाई आगामी चुनावका लागि सक्रिय भूमिकामा फर्किएको संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया