प्रतिनिधि सभाको मंगलबारको बैठक केही समयमै स्थगित

काठमाडौं — प्रतिनिधि सभाको मंगलबारको बैठक केही समयमै स्थगित गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू निलो रङको खादा (स्कार्फ) लगाएर संसद बैठकमा सहभागी भएपछि सत्तारूढ नेपाली कांग्रेसले आपत्ति जनाउँदै नियम विपरीतको व्यवहार भएको दाबी गरेपछि बैठक स्थगन गरिएको हो।

रास्वपा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसदमा निरन्तर विरोध गर्दै आएको छ। मंगलबार भने पार्टीले विरोधको नयाँ रूप अपनाउँदै आफ्ना सबै सांसदहरूलाई निलो खादा लगाएर बैठकमा पठाएको थियो।

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्ने अवसर दिएका थिए। कार्कीले संसदमा रास्वपाको जायज मागलाई दुई तिहाइको बहुमतको घमण्डमा दबाउन खोजिएको आरोप लगाइन्।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदको मर्यादासम्बन्धी नियम उल्लंघन भएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसदमा सहभागी हुँदा मर्यादित पोशाक अनिवार्य हुने व्यवस्था रहेको उल्लेख गर्दै निलो स्कार्फ मर्यादित पोशाकमा पर्छ कि पर्दैन भन्ने प्रश्न उठाए।

‘सांसदहरू स्कार्फ बाँधेर आउनुभएको छ। यदि जे पनि लगाएर आउन थालियो भने भोलि कसैले हाफ प्यान्ट लगाएर आए भने के गर्ने?’ घिमिरेले प्रश्न गरे।

त्यस्तै, उनले नियमावलीअनुसार सभामुखले अमर्यादित पोशाकमा आएका सांसदलाई चेतावनी दिन सक्ने र आवश्यक परे बैठकबाटै निष्कासन गर्न सक्ने अधिकारसमेत रहेको जानकारी गराए।

तपाईको प्रतिक्रिया