प्रतिनिधिसभा निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने सुरक्षा निकायको निर्णय


काठमाडौं  ।आगामी बिहीबार सञ्चालन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन केन्द्रीय सुरक्षा संयन्त्रले हेलिकप्टरमार्फत हवाई गस्ती गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार देशभरि निर्वाचन अवधिभर आवश्यक स्थानमा हेलिकप्टर प्रयोग गरी सुरक्षा निगरानी बढाइनेछ। मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले बैठकले सम्भावित संवेदनशील क्षेत्रलाई ध्यानमा राख्दै हवाई गस्तीको व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिइन्।

उक्त निर्णय गृह मन्त्रालय अन्तर्गत बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको हो। बैठकको अध्यक्षता गृहमन्त्री ओमप्रकाश अर्याल ले गरेका थिए।

बैठकले आवश्यक परे तुरुन्त परिचालन गर्न सकिने गरी हेलिकप्टर तयारी अवस्थामा राख्ने पनि निष्कर्ष निकालेको छ। साथै निर्वाचन अवधिमा कानुन विपरीत गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी राखी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय समेत गरिएको जनाइएको छ।

सुरक्षा निकायले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउन समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया