प्रतिनिधिसभा निर्वाचनको तयारी सम्पन्न भएको गृह मन्त्रालयको दाबी

काठमाडौं — गृह मन्त्रालय ले आगामी फागुन २१ गते बिहीबार तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मन्त्रालयमा आज बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल माध्यमबाट गरिएको समन्वय बैठकमा निर्वाचन सुरक्षा, व्यवस्थापन तथा आवश्यक प्रशासनिक प्रबन्धबारे समीक्षा गरिएको जनाइएको छ।

बैठकको अध्यक्षता राजकुमार श्रेष्ठ ले गरेका थिए। बैठकमा मन्त्रालयका उच्च अधिकारीहरू तथा देशभरका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा सबै जिल्लाबाट निर्वाचन तयारी पूरा भएको तथा सुरक्षा अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य का अनुसार, बैठकमा जिल्लागत तयारी, विद्यमान सुरक्षा अवस्था, केन्द्र–जिल्ला समन्वय र निर्वाचनको दिन अपनाइने सुरक्षा सतर्कताबारे विस्तृत छलफल भएको थियो। साथै संवेदनशील क्षेत्रको समीक्षा गर्दै आवश्यक रणनीति अपनाउने समझदारी बनेको जानकारी दिइएको छ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका थिए। बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षाकर्मी परिचालन तथा निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुर्‍याइसकिएको जानकारी दिएका छन्।

मन्त्रालयले समन्वयात्मक ढंगले काम गर्दै निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

तपाईको प्रतिक्रिया