प्रतिनिधिसभा निर्वाचनअघि मेयर बालेनको राजीनामाबारे तयारीको चर्चा व्यापक

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट अलग हुने विषयमा आन्तरिक तयारी गरिरहेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।

उनको सचिवालय निकट स्रोतका अनुसार, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै जाँदा मेयर शाहले जिम्मेवारी हस्तान्तरण गर्ने विषयमा छलफल अघि बढाएको बताइएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता माघ ६ गते तय गरिएको छ।

यसबीच, मेयर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नजिकिँदै गएको र आगामी निर्वाचनमा पार्टीले उनलाई प्रमुख भूमिकामा अघि सार्ने रणनीति बनाएको बताइन्छ। यद्यपि यसबारे औपचारिक घोषणा भने भइसकेको छैन।

राजनीतिक स्रोतहरूका अनुसार मेयर शाहले झापा–५ क्षेत्रबाट उम्मेदवारी दिने सम्भावनाबारे पनि आन्तरिक छलफल गरिरहेका छन्। यही सन्दर्भमा उनले आइतबार झापाका केही स्थानीय नेताहरूसँग भेटघाट गरी त्यहाँको राजनीतिक अवस्था, विकास निर्माण र मतदाताको धारणा बुझ्ने प्रयास गरेको बताइएको छ।

ललितपुर–१०, ज्वागलस्थित एक निजी निवासमा भएको उक्त छलफलमा रास्वपाका स्थानीय पदाधिकारीहरूको सहभागिता रहेको जनाइएको छ। छलफलका क्रममा झापा–५ को समग्र अवस्थाबारे प्रारम्भिक अध्ययन भइसकेको जानकारी पनि दिइएको बताइन्छ।

झापा–५ हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै आएको निर्वाचन क्षेत्र हो। उनी यसअघि अधिकांश निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

यसका साथै, मेयर शाहले विभिन्न सामाजिक तथा क्षेत्रीय आन्दोलनका अगुवाहरूसँग पनि भेटवार्ता गरेको स्रोतले जनाएको छ। ती भेटघाटहरू समसामयिक राजनीतिक अवस्था र सम्भावित सहकार्यका विषयमा केन्द्रित रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया