प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन, संविधान जोगाउन चुनौती:पूर्णबहादुर खड्का

काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन गरिएको बताएका छन्। सोमबार नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले यस्तो धारणा राखेका हुन्।

खड्काका अनुसार, “संविधान जोगाउन निकै ठूलो चुनौती आयो। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो जीवन अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्नुभएको छ। तर प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन भयो। हामी यसै सन्दर्भमा तरुण दलको स्थापना दिवस मनाइरहेका छौँ।”

उहाँले भदौ २३ र २४ गते भएको प्रदर्शनका बेला शान्तिपूर्ण आन्दोलनमा ठूलो हिँसा भएको र मुलुकले ठुलो चुनौती सामना गर्नु परेको बताए। खड्काका अनुसार, “२४ गते चार घण्टाभित्रै देशभर क्षति भयो। मानवीय हानी भयो र नेपालको इतिहासमा पहिलोपटक कार्यपालिका, व्यवस्थापिका र सर्वोच्च प्रणालीमाथि आक्रमण भयो। विराटनगरको कोइराला निवास र लोकतन्त्रको प्रतीक चाक्सीबारी जलेर खरानी बन्यो।”

कार्यवाहक सभापति खड्काले सभापति र अन्य नेतामाथि प्राणघातक आक्रमण भएको पनि बताए। आफूहरूबाट कमीकमजोरी भएको स्वीकार्दै उनले त्यसको जवाफदेहिता स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याए।

तपाईको प्रतिक्रिया