प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, सरकार भन्सार सुधारमा गम्भीर

काठमाडौं, वैशाख १७ — प्रतिनिधिसभाले भन्सार विधेयक २०८१ पारित गरेको छ। मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको विधेयक बहुमतले पारित गरिएको हो।

विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार विन्दुहरूमा देखिएको बेथिति हटाउँदै राजस्व चुहावट रोक्न सरकार गम्भीर रहेको बताए। उनले राजस्व प्रशासनलाई प्रभावकारी र अनियमितता नियन्त्रणमुखी बनाउने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे।

नेपाल विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा विश्व व्यापार संगठन (WTO) का सदस्य राष्ट्र भएकाले त्यसअनुसारका प्रतिबद्धता पूरा गर्न विधेयक आवश्यक भएको पौडेलको भनाइ थियो।

उनले थपे, “समयसापेक्ष रूपमा भन्सार प्रणालीलाई सुधार गर्न कानुनी आधार आवश्यक छ, यो विधेयकले भन्सार क्षेत्रमा गुणात्मक सुधार ल्याउनेछ।”

साथै, बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ पनि पारित गरेको छ।

बैठकका अन्त्यमा सभामुख देवराज घिमिरेले आगामी वैशाख १९ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया