प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश : राष्ट्र जोगाउन र एकता कायम गर्न मलाई साथ दिनुस् 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा देशवासीलाई भिडियो सन्देश जारी गर्दै राष्ट्रको समृद्धि र उन्नतिको लागि सबैलाई साथ दिन आह्वान गरेका छन्। उनले राष्ट्रिय समस्याहरूको समाधानका लागि विगतमा गरेका त्याग र अझै पनि त्याग गर्न तयार रहेको बताउँदै देश बचाउन र एकता कायम राख्न सबैको सहयोग आवश्यक भएको बताएका छन्।

सन्देशमा उनले आफ्नो त्यागलाई कमजोरीको रूपमा नहेर्न अपिल गर्दै भनेका छन् कि, “त्यागले कद सानो गर्दैन, र यो कमजोरीको संकेत हुँदैन।” उनले जनताको भलाईका लागि आफ्नो ओहोदा र सुखसुविधा त्यागेको कुरा पनि जोड दिएका छन्।

पूर्वराजाले प्रजातन्त्रलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि केवल शब्द र आदर्श पर्याप्त छैनन्, तर त्यसका लागि सही कार्य र व्यवहारको आवश्यकता रहेको बताएका छन्। उनले प्रजातन्त्रलाई बलियो बनाउने प्रक्रियामा सबैको पहिचान र अस्तित्व सुरक्षित राख्नुपर्ने विचार व्यक्त गरेका छन्।

साथै, उनले नेपालको वर्तमान अवस्था र इतिहास मेटिँदै जानु, देशबाट होनहार जनशक्ति बाहिरिँदै जानु, र कलकारखाना र व्यापारको गिरावटमा पनि चिन्ता व्यक्त गरेका छन्।

अन्ततः, पूर्वराजाले प्रजातन्त्रलाई जनताको भरोसा र आशा जगाउने प्रणालीको रूपमा देख्नुपर्ने र सबैको खुशी र समृद्धिका लागि यो व्यवस्था बलियो हुनुपर्ने कुरा बताएका छन्।

तपाईको प्रतिक्रिया