प्रचण्ड रिसोर्टमा लडेपछि अस्पताल ल्याइयो, टाउकोमा तीन टाँका!

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई ललितपुरको लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ।

मंगलबार साँझ उनी छोरी, ज्वाइँ र केही नजिकका आफन्तहरूसहित सो रिसोर्ट पुगेका थिए। त्यहाँ रात बिताउने योजना सहित उनी बसेका थिए। तर, मध्यराततिर बाथरूममा चिप्लिएर लडेपछि उनलाई तत्काल मेडिसिटी अस्पताल लगिएको उच्च स्रोतले जानकारी दिएको छ।

राति करिब २ बजे अस्पताल लगिएको र साढे ४ बजे डिस्चार्ज गरिएको स्रोतको भनाइ छ। मेडिसिटी अस्पताल स्रोतका अनुसार प्रचण्डको टाउकोमा तीनवटा टाँका लगाइएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी छिन्। उनले लेखेकी छिन्, “गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद!”

तर, उनले कहाँ लडेका थिए भन्ने उल्लेख नगरेकाले धेरैले घटनास्थल प्रचण्डको घर भएको अनुमान गरेका थिए।

लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्ट काठमाडौं उपत्यकाका उच्चस्तरीय रिसोर्टमध्ये पर्दछ, जहाँ सामान्य कोठाको मूल्य नै ३१ हजार ७ सय २५ रुपैयाँदेखि सुरु हुने जानकारी रिसोर्टको वेबसाइटमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया