प्रचण्ड भन्छन् : “भिजिट भिसा’को समस्या नयाँ होइन, २०६४ देखि देखिंदै आएको हो”

चितवन, शिवनगर — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’सम्बन्धी समस्या अहिले मात्रै उत्पन्न भएको होइन भनी स्पष्ट पारेका छन्।

प्रेस सेन्टर चितवनले मङ्गलवार प्रचण्ड निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त समस्या पहिलो पटक हाल देखिएको नभई, २०६४ सालदेखि नै उठिरहेको बताएका हुन्।

“यो समस्या २०६४ सालदेखि चल्दै आएको हो भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ,” प्रचण्डले भने।

उनका अनुसार भिजिट भिसासम्बन्धी समस्याको समाधानका लागि छानबिन र नीतिगत सुधार अपरिहार्य छ। आवश्यक परे संविधान संशोधन, नयाँ ऐन निर्माण तथा नीति तहबाट निर्णय गर्न पछि नहटिने स्पष्ट गर्दै उनले भने, “मैले छोडे पनि नेपाली जनताले यो मुद्दा छाड्ने छैनन्।”

प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि राष्ट्रिय हितका सवालमा सत्ता पक्षसरह भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले भने, “संविधान, कानुन र प्रणालीका पक्षमा हामीले पनि सत्ता पक्षको जिम्मेवारी सम्हाल्नुपरेको छ।”

उनका अनुसार बजेट पारित गर्नु, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन ल्याउनु तथा शान्ति प्रक्रियाका बाँकी कार्यहरू सम्पन्न गर्नु राष्ट्रिय आवश्यकता भएको हुँदा ती कामहरू अघि बढाउने सर्तसहित संसद्‌को अवरोध हटाउने सहमति भएको हो।

“३० दिनभित्र छानबिन समिति गठन गर्न सहमति भएको छ,” उनले प्रष्ट पारे।

तपाईको प्रतिक्रिया