प्रचण्डको आत्मालोचना : “जनताको अपेक्षा पूरा गर्न चुक्यौँ, तर सच्याउने छौँ”


काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा सार्वजनिक सन्देश जारी गर्दै आफूहरूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन्। जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आत्मालोचना गर्दै उनले व्यवहारमा चुकिएको उल्लेख गरेका छन्।

उनले गठबन्धनको बाध्यात्मक अवस्थाले सरकार सञ्चालनमा असर पारेको बताएका छन्। “कुनै आपराधिक गतिविधिमा मुछिएका छैनौं, तर जनताको अपेक्षा पूरा गर्न कमजोर देखियौं,” प्रचण्डले भने, “हामी अझै सच्याउनेछौं। नेतृत्व हस्तान्तरण पनि विधि र प्रक्रियाअनुसार हुनेछ।”

उनले युवा समूह ‘जेनजी’ले उठाएको प्रत्यक्ष निर्वाचन प्रणालीको माग आफूहरूको पनि पुरानो एजेन्डा भएको बताए। “हाम्रो पनि त्यही माग थियो। त्यसबेला सुनेको भए युवाहरूले रगत बगाउनु पर्ने अवस्था आउँदैनथ्यो,” उनले भने।

उनले संविधान निर्माणको बेला जनताको भावना बुझ्न आग्रह गरे पनि दुई तिहाइको अहंकारले त्यो सुन्ने प्रयास नगरेको आरोप लगाए। “मैले जनताको आवेगसँग नखेल्न आग्रह गरेँ। दुई तिहाइको घमण्ड त्याग्न अनुरोध गरेँ। तर सुनेनन्,” उनले उल्लेख गरे।

त्यसका साथै उनले संसद् विघटनलगायतका संवैधानिक प्रक्रियामा असहमति हुँदा पनि माओवादी केन्द्रले जिम्मेवार भूमिका खेलेको दाबी गरे।

तपाईको प्रतिक्रिया