डेलको प्रश्न: जाँचबुझ आयोगको प्रतिवेदन किन अझै सार्वजनिक भएन ?

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा जारी गरेको वक्तव्यमा उनले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन लामो समय भइसके पनि अझै सार्वजनिक नभएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले प्रतिवेदन गुपचुप राखिनुले जनमतमा शंका पैदा गरेको बताएका छन्।

पौडेलले भनेका छन्, “आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो। यसलाई अघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो।”

आइतबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। पौडेलले सरकार फेरिनुअघि आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको उल्लेख गरेका छन्।

उनी भन्छन्, “कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो? यो किन सार्वजनिक गरिँदैन? यक्ष प्रश्न खडा भएको छ।”

तपाईको प्रतिक्रिया