पोखरामा भ्रष्टाचारको ट्रेलर, फिल्म भैरहवामा देखिने संकेत — सांसद प्रेम आले

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा गम्भीर आर्थिक अनियमितता भएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद आलेले विमानस्थलको निर्माण लागत शंका लाग्दो ढंगले बढाइएको बताए। उनका अनुसार प्रारम्भमा १४५ मिलियन अमेरिकी डलरमा निर्माण हुने भनिएको विमानस्थलको लागत एक्कासि २१६ मिलियन डलरसम्म पुगेको हो। उनले यसमा करिब ७१ मिलियन डलरको खुला भ्रष्टाचार भएको दाबी गरे।

सांसद आलेले निर्माणको फ्लाइट प्रोसीजर डिजाइनसम्बन्धी आवश्यक कागजात माग्दा २०२२ नोभेम्बरको मात्रै प्रतिवेदन प्राप्त भएको जनाए। उनले सन् २०१७ मा भएको डिजाइनसम्बन्धी अभिलेख अझै पनि उपलब्ध नगराइएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।

त्यस्तै, उनले ट्याक्सासम्बन्धी कागजात माग्दा अर्थ मन्त्रालयबाट समेत आवश्यक अभिलेख प्राप्त नभएको गुनासो गरे।

“हामीले बारम्बार माग्दा पनि न पूरक कागजात दिइएको छ, न त पारदर्शिता देखाइएको छ। के हाम्रो समिति कमजोर हुँदैछ?” भन्दै उनले सार्वजनिक लेखा समितिको प्रभावकारितामाथि प्रश्नसमेत उठाए।

तपाईको प्रतिक्रिया