पूर्व गभर्नर अधिकारीको नियुक्ति प्रक्रियाविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । निवर्तमान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता नवीन धितालले गभर्नर अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। रिट मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ।

धितालले यस रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, समितिका सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर दायर गरेका हुन्।

उक्त रिट गभर्नर अधिकारी पदमा रहेका बेला गठित समितिमा उनले नियुक्ति पाएको भन्दै दायर गरिएको हो।

महाप्रसाद अधिकारी गत चैत २४ गते उमेर हदका कारण राष्ट्र बैंकको गभर्नर पदबाट अवकाश लिए। तर, त्यसअघि नै गभर्नर नियुक्ति सम्बन्धी समिति गठन गरिएको थियो।

समितिको बैठक बस्न नसकेको र असन्तुष्टि जनाउँदै पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए। त्यसपछि समितिले अधिकारीलाई गभर्नरको रूपमा नियुक्ति दिएको थियो।

हालसम्म सरकारले नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया