पीएसजीविरुद्धको कानुनी मुद्दामा एमबाप्पेको जित, करिब ८ अर्ब ८० करोड पाउने

काठमाडौं । फ्रान्सका चर्चित फरवार्ड किलियन एमबाप्पेले आफ्नो पूर्वक्लब पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्धको कानुनी विवादमा सफलता हात पारेका छन्। अदालतको निर्णयअनुसार एमबाप्पेले पीएसजीबाट ६० मिलियन युरो, अर्थात् करिब आठ अर्ब ८० करोड नेपाली रुपैयाँ पाउने भएका छन्।

यससँगै एमबाप्पेले १५ लाख युरो बराबरको ‘इथिक्स बोनस’ समेत प्राप्त गर्नेछन्। फ्रान्सेली फुटबल सम्झौतामा समावेश गरिने यो बोनस विश्व फुटबल समर्थकहरूका लागि अनौठो लाग्न सक्ने भए पनि फ्रान्सको व्यावसायिक खेल प्रणालीमा भने सामान्य अभ्यास मानिन्छ।

इंग्ल्यान्डको फुटबल संरचनामा क्लबलाई खेलाडीको अनुशासन उल्लंघनमा तलबबाट जरिवाना काट्ने अधिकार हुन्छ। तर, फ्रान्सेली कानुनले खेलाडीको तलबबाट प्रत्यक्ष कटौती गर्न निषेध गरेको छ। यही कारण फ्रान्सका क्लबहरूले तलबको एक अंशलाई ‘इथिक्स बोनस’का रूपमा छुट्याउने गरेका छन्।

फ्रान्समा खेलाडीको कुल तलब आधारभूत पारिश्रमिक र इथिक्स बोनस जोडेर निर्धारण गरिन्छ। यदि खेलाडीले अनुशासन उल्लंघन गरेमा क्लबले तलब काट्नुको सट्टा उक्त बोनस रोकिन सक्छ।

यसअघि नेयमार र पीएसजीबीचको सम्झौता सार्वजनिक हुँदा पनि इथिक्स बोनसको विषयले चर्चा पाएको थियो। रिपोर्टअनुसार नेयमारले यो बोनस पाउन समर्थकहरूसँग शिष्ट व्यवहार गर्नुपर्ने, खेलअघि र पछि फ्यानहरूलाई अभिवादन गर्नुपर्ने जस्ता सर्तहरू समावेश थिए।

तर, व्यवहारिक रूपमा इथिक्स बोनस खेलाडीको पेशागत आचरणसँग जोडिएको हुन्छ। यसमा प्रायोजक र रेफ्रीहरूसँग जिम्मेवार व्यवहार, प्रशिक्षणमा समयमै उपस्थित हुनु, सट्टेबाजीमा संलग्न नहुनु तथा क्लबको छविलाई नकारात्मक असर पर्ने सार्वजनिक टिप्पणी नगर्नुजस्ता सर्तहरू लागू हुन्छन्।

एमबाप्पेको पक्षमा आएको यो फैसला फ्रान्सेली फुटबलमा खेलाडी अधिकार र सम्झौता व्यवस्थापनको दृष्टिले महत्वपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया