पाटन दरबार क्षेत्रको नयाँ शौचालय, एक करोड २६ लाख ५१ हजारमा निर्माण सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण गरेको छ। यस शौचालयको लागत एक करोड २६ लाख ५१ हजार रहेको छ।

पाटन दरबार क्षेत्रमा पर्यटकहरूको संख्या बढ्दै गइरहेको समयमा शौचालयको अभाव रहेको थियो। यसलाई मध्यनजर गर्दै, पर्यटकीय आकर्षणलाई अझ प्रभावकारी बनाउन शौचालय निर्माण गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन्।

उक्त शौचालय निर्माणमा स्थानीय सामग्रीहरू जस्तै चुना, सुर्की, काठ, इँटा र झिँगटीको प्रयोग गरिएको छ, र ऐतिहासिक स्थलको सम्मान गर्दै ऐतिहासिक शैली अपनाइएको छ। यस शौचालयमा स्तनपान कक्षसमेत राखिएको छ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले शौचालयलाई अपांगतामैत्री र्‍याम्पिङ गर्न सकिने बताए। “पाटन दरबारमा निर्माण भएको यो शौचालय पर्याप्त हुनेछ र यसलाई रेखदेख पनि महानगरले गर्नेछ,” महर्जनले भने।

निःशुल्क रूपमा प्रयोग गर्न पाइने उक्त शौचालयको सरसफाइका लागि दुई कर्मचारीलाई नियुक्त गरिएको छ। यो शौचालय पाटन दरबार क्षेत्रको हेरिटेज गार्डेन होटेल नजिकै स्थित छ।

तपाईको प्रतिक्रिया