पाकिस्तानलाई मोदीको चेतावनी: भने आतंकवाद र वार्ता एकसाथ चल्न सक्दैन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भारतको ‘अपरेसन सिन्दुर’ को सफलता र भारतीय सेनाले देखाएको बहादुरीको तारिफ गरेका थिए। उनले अपरेसन सिन्दुरले आतंकवादविरूद्ध नयाँ मान्यता स्थापित गरेको दाबी गरे र २१ औं शताब्दीको युद्धमा भारतको श्रेष्ठता प्रमाणित भएको बताए।

“अपरेसन सिन्दुरको क्रममा मेड इन इन्डिया हतियारको प्रभावशीलता प्रमाणित भएको छ। अब २१ औं शताब्दीको युद्धमा मेड इन इन्डिया हतियारको समय आइसकेको छ,” उनले भने। यद्यपि, उनले यो युग आतंकवादको युग नभएको पनि स्पष्ट पारे। मोदीका अनुसार, “आतंकवादविरूद्ध शून्य सहनशीलता नीति लागू गर्नु सबैको जिम्मेवारी हो। यसले राम्रो दुनियाँको ग्यारेन्टी गर्छ।”

प्रधानमन्त्री मोदीले पाकिस्तानलाई कडा चेतावनी दिँदै भने, “यदि फेरि आतंकवादी हमला भयो भने, हामी त्यसको कडा जवाफ दिन कुनै पनि झिझक देखाउने छैनौँ। हामी हाम्रो तरिकामा जबाफ दिनेछौँ, र जहाँबाट आतंकवादको जन्म हुन्छ, त्यहाँ आक्रमण हुनेछ।”

पाकिस्तानको परमाणु हतियारको ‘ब्ल्याकमेल’ सम्बन्धी टिप्पणी गर्दै मोदीले भने, “परमाणु हतियारको धम्कीका आधारमा आतंकवादको संरक्षण गरिरहेका पाकिस्तानका ठिकाना माथि भारत सटिक र निर्णायक प्रहार गर्नेछ।”

‘अपरेसन सिन्दुर’ का क्रममा पाकिस्तानी सेनाका उच्च अधिकारीहरू आतंकवादीहरूको अन्त्येष्टिमा सहभागी भएको घटनालाई मोदीले पाकिस्तानको वास्तविक चेहरा बताएका थिए र यसलाई राज्य प्रायोजित आतंकवादको प्रमाण भने।

उनले पाकिस्तानलाई चेतावनी दिँदै भने, “यदि पाकिस्तानलाई बच्न चाहन्छ भने, उसले आतंकवादी संगठनको संरचनालाई नष्ट गर्नुपर्नेछ। शान्तिको अर्को उपाय छैन।” मोदीले थपे, “आतंकवाद र वार्ता एकसाथ हुन सक्दैन। आतंकवाद र व्यापार पनि एकसाथ चल्न सक्दैन। पानी र रगत एकसाथ बग्न सक्दैन।”

प्रधानमन्त्री मोदीले पाकिस्तानसँग वार्ता मात्र आतंकवाद र पाकिस्तान प्रशासित कश्मीरको विषयमा सीमित हुन सक्ने कुरा स्पष्ट गरे।

तपाईको प्रतिक्रिया