पाकिस्तानमा हवाई कारबाहीपछि भारतले ११ विमानस्थलबाट उडान रोक्यो

पाकिस्तानमा हवाई आक्रमणपछि भारतले उच्च सतर्कता अपनाउँदै सात राज्यका ११ विमानस्थलमा उडान बन्द गरेको छ।

भारतको श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर विमानस्थलमा सबै उडानहरू स्थगित गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्। यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका क्षेत्रहरूमा पर्ने भएकाले सुरक्षा कारण देखाउँदै उडानहरू रोकिएको हो।

जम्मु कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न जिल्लाहरूमा विद्यालयहरू पनि बन्द गरिएका छन्। साथै, भारत–पाक सीमा नजिक रहेको करतारपुर करिडोर समेत अस्थायी रूपमा बन्द गरिएको छ। यो मार्गमार्फत भारतीय सिख तीर्थयात्रीहरू पाकिस्तानको करतारपुर साहिब मन्दिर दर्शन गर्न जान्थे।

विभिन्न एयरलाइन्सहरूका उडान स्थगन

एयर इन्डियाले १० मे बिहान ५:२९ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चंडीगढ़ र राजकोटसमेतका सबै उडानहरू रद्द गरेको छ।

त्यस्तै, इन्डिगोले जम्मू, श्रीनगर, अमृतसर, लेह, चंडीगढ़, धर्मशाला, बिकानेर, जोधपुर, ग्वालियर, किशनगढ र राजकोट गरी ११ शहरहरूमा १० मे बिहान ५:२९ बजेसम्मका सबै उडानहरू रद्द गरेको जनाएको छ। इन्डिगोका १६५ घरेलु उडानहरू रद्द भएका छन्, जसले दैनिक झन्डै २२०० उडान सञ्चालन गर्छ।

दिल्ली विमानस्थलबाट मात्र २० भन्दा बढी उडानहरू रद्द भएका छन्।

स्पाइसजेटले पनि ७ मेसम्मका लागि लेह, श्रीनगर, जम्मू, कांगडा (हिमाचल प्रदेश), कांडला (गुजरात) र अमृतसरमा उडान स्थगित गरेको जनाएको छ।

भारत–पाक तनावको पृष्ठभूमि

भारतले अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि कडा प्रतिक्रिया दिँदै मंगलबार राति पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीर (पीओके)मा हवाई कारबाही गरेको हो।

भारतको दाबी अनुसार उक्त कारबाहीमा एक सयभन्दा बढी आतंककारी मारिएका छन्। यता पाकिस्तानले २६ जना सर्वसाधारणको ज्यान गएको पुष्टि गरेको छ।

सीमापारबाट भएको गोलीबारीमा भारततर्फ पनि १० जना सर्वसाधारणको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया