पाकिस्तानमा भीषण वर्षा र बाढी : २४ घण्टामै ६३ को ज्यान, आपतकाल घोषणा

काठमाडौं । पाकिस्तानमा लगातारको भीषण वर्षापछि आएको बाढी तथा प्राकृतिक विपत्तिमा परेर २४ घण्टाभित्रै कम्तीमा ६३ जनाको ज्यान गएको छ।

पञ्जाब प्रान्तमा बुधबार बिहानदेखि परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश मृतक घर भत्किँदा च्यापिएका, डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटनामा परी थप २९० जना घाइते भएका छन्।

राजधानी इस्लामाबाद नजिकको रावलपिण्डी सहरमा नदीको सतह खतराको तह नाघेपछि किनाराका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। जनधनको क्षति बढ्ने अनुमान गर्दै बिहीबार त्यहाँ सार्वजनिक बिदासमेत घोषणा गरिएको थियो।

पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले प्रान्तभर आपतकालको घोषणा गरेकी छन्।

बीबीसीका अनुसार चकवाल सहरमा २४ घण्टामा ४०० मिमि वर्षा मापिएपछि स्थिति गम्भीर बन्दै गएको छ। उद्धारकर्मीहरू डुंगा र हेलिकप्टरमार्फत प्रभावितहरूलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा छन्।

पाकिस्तानमा जुनको अन्त्यदेखि सुरु भएको मनसुन सिजनमा अहिलेसम्म करिब १८० जनाले ज्यान गुमाइसकेका छन्, जसमा ठूलो संख्यामा बालबालिका रहेका छन्।

पञ्जाबका विभिन्न स्थानमा बाढीले राजमार्गहरू बन्द गराएका छन् भने हवाई उडानहरू रद्द वा ढिलाइ भएका छन्।

झण्डै २५ करोड जनसंख्या रहेको पाकिस्तान जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित देशहरूमध्ये पर्दछ। सन् २०२२ को विनाशकारी बाढीमा देशको एक तिहाइ भूभाग डुबेको थियो, जसमा १,७०० जनाको ज्यान गएको थियो भने करिब ३० अर्ब डलर बराबरको क्षति भएको थियो।

तपाईको प्रतिक्रिया