पाँच दिनदेखि हराइरहेका दाजुबहिनी मृत अवस्थामा खोलामा फेला

पाँचथर — पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१, बिरूवाबाट पाँच दिनअघि हराएका दुई नाबालक दाजुबहिनीको शव खोलामा फेला परेको छ।

बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राई साउन १५ गते बिहानदेखि बेपत्ता भएका थिए। उनीहरूको शव साउन २० गते (मंगलबार) बिहान बिरूवा खोलाको किनारमा, करिब २०० मिटरको फरकमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए।

शिशिर कक्षा ४ र नानुमा कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए।

वडाध्यक्षका अनुसार, साउन १५ गते बिहान करिब ६ बजे बिर्खबहादुरले आफ्ना छोराछोरीलाई हजुरआमा कहाँ गई खाना खाएर विद्यालय जान निर्देशन दिएका थिए। तर, त्यसपछि उनीहरू घर फर्किएका थिएनन्।

हजुरबुबा र हजुरआमा दुवैले नातिनातिनी बाबुका साथ छन् भन्ने बुझाइ राखेर आफ्नै काममा व्यस्त रहे। तर, बेलुकी ७ बजेतिर नातिनातिनी नआएपछि बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरी सोधपुछ गरेका थिए।

दुबै घरमा बालबालिका नभेटिएपछि साउन १६ गते बिहानदेखि खोजी कार्य सुरु गरिएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए। उनका अनुसार, बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको छ।

मृतक दाजुबहिनीकी आमा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया