पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध, यात्रा प्रभावित

म्याग्दी । लगातारको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डमा विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। हिमालपारिको मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो एक मात्र मार्ग अवरुद्ध हुँदा मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि जाने यात्रुहरू समस्या पर्ने भएका छन्।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक बन्द भएको छ। त्यस्तै, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिएका छन्।

बेनी जोमसोम कोरला सडक आयोजनाका इन्द्रसिंह शेरचनका अनुसार, लगातार वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भइरहेको छ। उनले भने, “पानी परिरहेको अवस्थामा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने सम्भावना छ, त्यसैले यात्रुहरूले सडकको अवस्था बुझेर मात्र यात्रा गर्नु उचित हुन्छ।”

यसैगरी, बेनी–दरवाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ धुमाउने भीर र मालिका गाउँपालिका–६ बाङ्गे क्षेत्रमा पनि पहिरो जोखिमपूर्ण अवस्थाको जानकारी प्रहरीले दिएको छ।

तपाईको प्रतिक्रिया