पहिरोले यात्रामा बाधा, दाउन्ने र चौकीडाँडामा लामो जाम


काठमाडौं, दसैं नजिकिँदै गर्दा देशका प्रमुख राजमार्गहरू पहिरोका कारण अवरुद्ध हुन थालेका छन्। नवलपरासीको दाउन्नेमा बिहीबार रातिदेखि निरन्तर पहिरो खसिरहेकाले सवारी आवागमनमा समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व) का अनुसार पहिरोको कारण दुवैतर्फ सवारी साधनको लामो जाम लागेको छ। बिचबिचमा पहिरो पन्छाएर सवारी पार गराउने प्रयास भइरहेको भए पनि निरन्तर झर्ने पहिरोले अवरोध बढाएको हो।

यसले गर्दा पश्चिमतर्फ गएका सवारी साधन अझै दाउन्ने पार गर्न सकेका छैनन् भने चितवनतर्फ पनि लामो लाइन लागेको छ।

त्यस्तै, बिपी राजमार्ग अन्तर्गत चौकीडाँडामा अस्थायी रूपमा निर्माण गरिएको एकतर्फी सडक पनि वर्षाले अवरुद्ध भएको छ। यस क्षेत्रमा पनि सवारी साधन लामो समयदेखि रोकिएका छन्।

दसैं नजिकिँदै गर्दा विद्यालय तथा विश्वविद्यालयको पठनपाठन बन्द भएकाले राजधानीबाट बाहिरिनेको संख्या बढ्दो छ। यस्तो समयमा पूर्व–पश्चिम यातायात अवरुद्ध हुँदा चाडपर्वको यात्रा प्रभावित हुने देखिएको छ।

व्यवसायीहरूले समयमै समस्या समाधान नगरे दसैंको आपूर्ति प्रणाली, यात्रा र सेवामा असर पर्ने चेतावनी दिएका छन्।

यसबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको सन्दर्भमा राजमार्ग सञ्चालन सहज बनाउने विषयमा सरोकारवालासँग छलफल गर्ने तयारी गरेका छन्।

सरोकारवाला निकायहरूले भने पर्याप्त जनशक्ति र उपकरण नपुगेको गुनासो गर्दै, तत्काल राहत दिन सरकारलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया