पहाडी जिल्लामा डोजर बाटो : विकास कि विनाश ? (भिडियो सहित)

विकट भौगोलिक संरचना भएको मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिएको छ । गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने ठानिएको छ । गाउँमा डोजर पुग्दा होस् वा सडक बनेर पहिलो पटक कुनै सवारी साधन पुग्दा होस्, गाउँलेले खुसी भएर त्यसलाई पूजा गर्नुमा उनीहरूको विकासप्रतिको आकाङ्क्षा झल्किन्छ । गाउँलेको यही खुसीलाई देखेका र चिनेका जनप्रतिनिधिहरू गाउँलेलाई खुसी पार्न र आफ्नो पक्षमा जनमत बलियो बनाउन गाउँगाउँमा डोजर पु(याउने प्रतिस्पर्धामा छन् ।
यसो त गाउँमा डोजर पुगेपछि विकास मात्रै हुने होइन, विनाश पनि भएको छ । डोजर गाउँगाउँमा पुग्दा वा पहाडका कुना कन्दरामा पुग्दा त्यहाँ सडक मात्रै निर्माण भएको छैन, स्थानीय वातावरणमा नकारात्मक असर पनि परेको छ । गाउँगाउँमा र पहाडका कुना कन्दरासम्म अव्यवस्थित रूपमा जथाभावी डोजर चलाउँदाको परिणाम हो वातावरणीयलगायत स्थानीय सामाजिक र सांस्कृतिक क्षय । कुनै व्यवस्थित र दीर्घकालीन योजना र वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी डोजर लगाएर खनिएका सडकहरूले गाउँलाई सहरसम्मको सडक सञ्जालमा त जोडिदिएको छ, वातावरणीय समस्या पनि निम्त्याएको छ । त्यसैले गाउँगाउँ पुग्ने डोजरले विकास मात्रै गरेको छैन, विनाश पनि गरेको छ । विकासको चाहनामा विनाश पनि सँगसँगै आउँदा विकाससँग रमाएका जनता विनाशसँग त्रसित भएर बाँच्न विवश छन् ।
विकासको नाउँमा डोजर र स्काभेटर गाउँ पुगेपछि त्यसले वनजङ्गल फाँड्न, खेतबारी मास्न र पहाड उधिन्न थालेको छ ।
जनताको विकासप्रतिको तीव्र आकाङ्क्षालाई भोटसँग साट्न पल्केका राजनीतिक पार्टीका नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूले छिट्टै गाउँमा विकास पुगेको भ्रम छर्नका लागि गाउँगाउँसम्म डोजर पु(याउने प्रतिस्पर्धा गरिरहेका छन् । पहाडका सुन्दर बस्ती नै चिरेर सडक खन्दा त्यहाँको पानीको मुहान सुक्ने, बर्खाको भेलसँगै मलिलो माटो बग्ने र पहिरो खस्ने समस्या जताततै देखिएका छन् । सडकका लागि जथाभावी वनजङ्गल फाँड्दा पहाडका सुन्दर एवं हरियाली युक्त डाँडाहरू उजाड बनेका छन् । सडकसँगसँगै पुगेका प्राकृतिक खानी जन्य उद्योगहरूले सुन्दर हरियालीयुक्त पहाड र डाँडाकाँडाहरूलाई कुरूप बनाएका छन् । खानेपानीको मुहान सुकेर कतिपय गाउँबाट बस्ती नै विस्थापित भएका छन् । पहिरोको डरले पनि विस्थापित भएका छन् । यसरी आफैँलाई विस्थापित गर्ने विकासको के अर्थ ? यस विषयमा कार्यक्रम टक अफ द टाउनले देशका विभिन्न जिल्लाको अवस्था कस्तो छ ? अब जनप्रतिनिधि तथा सरोकारवालाहरुले यसलाई कसरी नियन्त्रण गर्न सक्छन् ?जनप्रतिनिधि तथा विभिन्न जिल्लामा बनेका सडकको अवस्थाका के कस्तो छ ? भन्ने विषयमा गरिएको कृराकानीको पूरा भिडियो ः

तपाईको प्रतिक्रिया