परीक्षा बोर्ड लहानका प्रमुख र अधिकृत केन्द्र तोक्ने प्रकरणमा छानबिन सुरु

सिरहा — कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा अवैध आर्थिक लेनदेन गरेको आरोपमा परीक्षा बोर्ड, लहानका प्रमुख धनपति भेटवाल र शाखा अधिकृत चन्द्रदेव यादवलाई केन्द्रबाट हटाइएको छ। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले उनीहरूलाई केन्द्रबाट हटाएको हो।

परीक्षा केन्द्र निर्धारण गर्दा अवैध रकम असुली भएको विषयमा समाचार सार्वजनिक भएपछि, गत सोमबार यी अधिकारीहरूलाई केन्द्रबाट फर्काइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्। साथै, उनीहरूविरुद्ध विस्तृत छानबिन प्रक्रिया सुरु गरिएको पनि शर्माले बताए।

शर्माले भने, “समाचार सार्वजनिक भएपछि मैले यस विषयमा जानकारी लिई उनीहरूलाई फर्काएको छु। उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ र कानूनी कारबाही प्रक्रिया अघि बढाइनेछ।”

यसैबीच, परीक्षा बोर्डले लहानस्थित कार्यालयमा भेटवालको स्थानमा नयाँ प्रमुखका रूपमा संजय पाण्डेलाई नियुक्त गरेको छ। पाण्डेलाई मंगलबारदेखि लहानको प्रमुखको जिम्मेवारी सुम्पिइएको शर्माले बताए।

यस कार्यालयले सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लाहरूको परीक्षा केन्द्र व्यवस्थापन गर्दै आएको थियो। कान्तिपुर समाचारका अनुसार, यस कार्यालयले विद्यालयअनुसार ५० हजारदेखि २ लाख रुपैयाँसम्म असुली गरी, भनेका स्थानमा केन्द्र तोकेको जनाएको थियो।

तपाईको प्रतिक्रिया